काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो ।

पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ–आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन् ।

विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।

त्यसैगरी संस्थापन समूह तथा डा. शेखर कोइराला पक्षको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन् ।

विशेष महाधिवेशनको वैधता, पार्टी विधान, नेतृत्व तथा भावी कार्यदिशाबारे देखिएको मतभेदलाई सहमतिमा समाधान गर्ने प्रयासस्वरूप वार्ता गरिने नेताहरूले बताएका छन् । वार्ताबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको भए पनि छलफलको परिणामबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।