काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २० औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गरेका हुन् ।

सञ्चारमन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भएपनि राम्रो नेतृत्व ल्याउनुपर्छ, दलको दास र नेताको अन्दभक्त हुनुहुँदैन ।’ सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए ।

उनले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गनुपर्ने बताए । राजनीतिक दल र नेताको दबाव र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रुपमा राम्रो कर्म गनुपर्नेमा जोड दिए ।

साथै उनले इक्यान संस्थासँग आफू पत्रकार हुँदादेखी सहकार्य गरेको जानकारी दिँदै ईक्यानले ग्लोबल एजुकेशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मन्त्री खरेलले इक्यान व्यवसायीले देशको अर्थतन्त्रमा थोरैधेरै सुधार ल्याएको बताउँदै आगामी दिनमा आफू जुनसुकै पद र पेसामा भएतापनि इक्यानलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने बताए । आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको भनाइ छ । कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।