काठमाडौं— दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, ‘प्रशान्त तामाङको योगदान अतुलनीय छ । उनले आफ्नो गायन र कलाकारितामार्फत सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गरे । यो हाम्रो लागि ठूलो क्षति हो, कठिन घडीमा हामी उनको परिवारसँगै छौँ ।’

दार्जिलिङका स्थायी बासिन्दा तामाङको आइतबार दिल्लीस्थित निवासमै निधन भएको थियो । यस विषयमा दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले जानकारी दिँदै भने, ‘आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो ।

अस्पतालमा प्रशान्त तामाङलाई ‘ब्रोउट डेड’ घोषणा गरिएको थियो । घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको छ । मृत्युको कारण पुष्टि गर्न पोस्टमार्टमका लागि शव डीडीयू अस्पताल पठाइएको थियो ।’

उनका अनुसार, पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद कारणबारे निष्कर्ष निकाल्न कठिन रहेको छ । तामाङसँगै उनकी पत्नी र छोरी बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् ।

यसैबीच, तामाङकी पत्नी मार्था एली तामाङले निधनप्रति आएका शुभेच्छा र समवेदनाप्रति आभार व्यक्त गर्दै मृत्यु प्राकृतिक भएको स्पष्ट पारेकी छन् । ‘कुनै पनि शंकास्पद अवस्था थिएन । उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए । म त्यही बेला उनको छेउमै थिए’, उनले भनिन् ।

इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।

उनी ‘पाताल लोक सिजन २’मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा पनि देखिने अपेक्षा गरिएको थियो । उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, समग्र गोरखा समुदायलाई शोकमा डुबाएको छ ।