काठमाडौं— नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताए ।
अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘ देश नै रहेन भने कोसँग शासन गर्ने ? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन् । अहिले पुस्ता बद्लिएको छ । जनताको अपेक्षा बद्लेको छ । त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ । अब नयाँ युवाहरुलाई अगाडि सार्नुपर्छ । नयाँ युवा र युवतीहरुलाई यो देशको हरेक ठाउँमा ल्यानुपर्छ । उहाँहरुलाई उठाएर जिताउनुपनि पर्छ ।’
त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे ।
‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन् । आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ । स्थिति अत्यन्तै जटिल छ । भदौं २३ र २४ गतेको घट्नाले के देखाएको छ रु अब गुटको कुरा नगरौं पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ’उनले भने ।
त्यस्तै उनले नेपाली कांग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताए ।






































