सुनसरी— झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी २२ वर्षीय मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–५, गैरीगाउँबाट शनिबार साँझ पक्राउ गरिएको हो।
गाउँघरमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मगर कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाएर झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
उनी गत भदौ २४ गते कारागारभित्र भएको आन्दोलनको मौका छोपी फरार भएका थिए। फरार भएयता प्रहरीले विभिन्न स्थानमा खोजतलास तीव्र पारेको थियो।
पक्राउ परेका मगरलाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी उनलाई मोरङ जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।






































