काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवादको आँकलन गर्दै सतर्क बनेको छ। आयोगले कांग्रेसको विधान, राजनीतिक दल सम्बन्धी ऐन तथा विगतका नजिरहरूको अध्ययन गरिरहेको जनाएको छ।
आयोग स्रोतका अनुसार महाधिवेशनबाट आउने सम्भावित निर्णय—जस्तै नेतृत्व, विधान संशोधन, केन्द्रीय संरचना, नाम वा चुनाव चिह्नसम्बन्धी विषय—अद्यावधिकका लागि आयोगमा पुग्ने भएकाले पूर्वतयारी आवश्यक देखिएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले प्रक्रिया पूरा भएर आएका निर्णयलाई कानुन र दलको विधानअनुसार मूल्यांकन गरिने स्पष्ट पारे।






































