काठमाडौं— गत वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष छ महिनापछि भेटिएको छ। तनहुँको आँबुखैरहनी गाउँपालिका–५, द्वोन्द्राङ बेँसीस्थित त्रिशूली नदी किनारमा बालुवामा पुरिएको अवस्थामा बसको भाग देखिएपछि अहिले त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।
दुर्घटनास्थल सिमलतालबाट करिब २०० मिटर तल तनहुँतर्फको किनारमा अवशेष फेला परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले माछा मार्ने क्रममा जाल अड्किएपछि खोतल्दा बसजस्तै वस्तु देखिएपछि प्रहरीलाई जानकारी दिएका थिए।
अवशेषको बाहिरी भाग निलो देखिएकाले यो दुर्घटनामा हराएको ‘गणपति डिलक्स’ बस हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, बसलाई पूर्ण रूपमा निकालेर नम्बर प्लेट तथा अन्य चिन्ह पहिचान भएपछि मात्र आधिकारिक पुष्टि गरिने प्रहरीले जनाएको छ।
वि.सं. २०८१ असार २८ गते भएको उक्त दुर्घटनामा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। ती बसमा सवार ६५ जनामध्ये हालसम्म ११ जनाको शव फेला परेको छ भने ५१ जना अझै बेपत्ता छन्। तीन जना यात्रुले भने पौडिएर ज्यान जोगाएका थिए।
लामो समयसम्म नेपाली र भारतीय उद्धार टोलीले खोजी गरे पनि पत्ता नलागेको बसको अवशेष संयोगवश फेला परेपछि पुनः उद्धार कार्य अघि बढाइएको छ।






































