काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसरमा सुरु भएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता(कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ भएको छ ।
विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।
भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ । ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट गएका जुलुस भृकुटीमण्डप पुगेका छन् ।






































