काठमाडौं— नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ ।

५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ आम्दानी गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सशक्त उपस्थिति जनाएको हो ।

यस चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूहले रिलिज गरेका हुन् । भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए ।

निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि. ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ ।

photo-4_d8fdaf3d