काठमाडौं— गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेकपामा समाहित भएका हुन् ।

काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गरे ।

समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पिताम्बर आचार्यलगायत छन् ।

स्वतन्त्र वाम समूहमार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने जनाइएको छ ।