झापा— जिल्लाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । 

उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो । 

प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । 

२०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए । 

पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। खरेलले पछिल्लो केही बर्ष देखि  झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यलय झापाका प्रबक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।  

२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः यस्तै गतिविधिमा संलग्न हुदै आएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि २०८१ साल चैत्रमा प्रकाउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको व्याक्ति भएको प्रहरीले जनाएको छ ।

गत फागुन १९ गते कनकाई पुलमा भेटिएको प्रेसर कुकर बमको साथमा भेटिएको झोलामा फेला परेको पर्चामा सनातन सुुुरक्षा सेना नेपालको पर्चामा नेपालमा राजसंस्था स्थापना, वैदिक सनातन हिन्दु राज्य घोषणा र फागुन २१ गतेको निर्वाचनलाई पुर्णरुपमा बहिस्कारको नारा राखिएको थियो ।  

पर्चामा फागुन २१ गतेको निर्वाचनमा सहभागि हुने पार्टी र संस्था आफ्नो आन्दोलनको विरोधी हुने कुरा उल्लेख छ । अबको विकल्प हतियारनै भएको समेत पर्चामा लेखिएको थियो ।