जनकपुर— नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ ।

उनीहरुले धनुषाको धनुषाधाम नगरपालिका र जनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गत्ते देखि काकड्भिट्टाबाट सुरु भएको उक्त अभियान देशका तीन स्थानबाट एकै साथ सुरु भएको समाजवादी युवा जागरण अयिभानका प्रमुख तथा नेकपा ९माओवादी०का केन्द्रिय सदस्य प्रकाश केसीले जानकारी दिए ।

उक्त अभियानले विभिन्न मागहरु उठाउँदै जनतालाई सचेत गराउने उद्देश्यका साथ देशभर भ्रमण गरिरहेको अभियानका प्रमुख केसीले बताए ।

नागरिक सरकारको नाममा बनेको शुसीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको म्यानडेट बिर्सेको नेकपा ९माओवादी० पार्टीले ठहर गर्दै विभिन्न माग अघि सारेको उनले बताए ।

संयुक्त राजनीतिक दलसहितको सरकार हुनुपर्ने, भ्रष्टाचारीहरुको सम्पत्ति छानबीन गरी आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, नागरिक आयोग गठन गर्नु पर्ने, कालो बाजारी नियन्त्रण गर्न ५०० र १००० का नोट बन्द गर्नुपर्ने, पूराना राजनीतिक दलहरुको भण्डाफोर गर्ने, नयाँ बनेका राजनीतिक दलहरुमा आवद्ध केही अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको बारेमा जनतालाई जानकारी गराउने लगायतका विषय लिएर अभियान सञ्चालन गरिएको अभियानका प्रमुख केसीले जानकारी दिए।

उनले यी विषयहरुको बारेमा जनतालाई जानकारी गराई उनीहरुको समस्या पनि बुझ्नका लागि पूर्वदेखि पश्चिमसम्म अभियान सञ्चालन गरिएको उनले बताए । अभियानले अहिलेसम्म मधेशको ६ जिल्लामा कार्यक्रम गरिसकेको र बाँकी जिल्लाहरु पनि एक दुई दिन भीत्रै जाने केसीले बताए । उनले अभियान पुस ३० गत्तेसम्म चल्ने जानकारी दिए ।