विराटनगर— मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ६ जनालाई पक्राउ गरेको छ।

मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले मंगलबार सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा सुनवर्षी नगरपालिका–२ का गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

उता, वडा प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेटसहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ। लागूऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ।