काठमाडौं— आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ। प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच चुनावी सहकार्य तय भएपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने औपचारिक निर्णय गरेको हो। नयाँ त्रिपक्षीय गठबन्धनअनुसार कूल १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट पाउने सहमति भएको कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।
विभिन्न राजनीतिक मुद्दामा वामपन्थी दलहरूसँग मत नमिल्दा कांग्रेस र एमाले एउटै चुनावी मोर्चामा उभिएका हुन्। यस नयाँ समीकरणसँगै माओवादी केन्द्र भने गठबन्धनबाट अलग भएको छ।
कांग्रेसले आफ्नो भागमा परेका सबै ९ सिटका उम्मेदवार टुंग्याइसकेको छ। कोशी प्रदेशबाट सुनिल थापा, मधेस प्रदेशबाट रञ्जित कर्ण (अल्पसंख्यक) र धमेन्द्र पासवान (दलित) उम्मेदवार बनेका छन्। यस्तै, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी र वासुदेव जंगली उम्मेदवार छन्।
कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई कांग्रेसले अघि सारेको छ।
आज उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिन रहेकाले दलहरू आ–आफ्ना प्रदेशमा तयारीमा जुटेका छन्। दुई ठूला दलबीचको अप्रत्यासित सहकार्यले राष्ट्रिय सभा निर्वाचन मात्र नभई भावी सत्ता समीकरणमा समेत असर पार्ने विश्लेषण गरिएको छ।






































