कैलाली— लगातारको शीतलहरसँगै  अत्यधिक चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय एक साताका लागि बन्द भएका छन् ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार केही दिनदेखि बढेको कठ्याङ्ग्रिने चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै नियमित पठनपाठन प्रभावित भएकाले पुस २४ गतेदेखि माघ २ गतेसम्म विद्यालय बन्द रहनेछन्।

पछिल्ला दिनहरूमा बाक्लो हुस्सु र कुहिरोसँगै चलिरहेको शीतलहरले कैलालीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसोबाट बच्न सर्वसाधारण आगो ताप्न बाध्य छन्।

जाडोबाट प्रभावित नागरिकलाई राहत दिन धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकालगायत स्थानीय तहहरूले केही दिनअघि दाउरा वितरण गरेका थिए।

यसैबीच, शीतलहरको प्रभावले धनगढी क्षेत्रको न्यूनतम र अधिकतम तापक्रम घट्दो क्रममा रहेको छ। पहाडी क्षेत्रमा घाम लागे पनि तराईका जिल्लाहरू कुहिरो र हुस्सुले ढाकिएका छन्। चिसोका कारण आलु, तोरीलगायत हिँउदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन्।