बैतडी— जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ । पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित उक्त गृहकार्य अगाडि बढाइएको हो ।  

विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए। पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन् । पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ । पुस्तकालयमा धार्मिक, शैक्षिक, विभिन्न संविधान, ऐन, कानुनलगायतका पुस्तक राखिएका छन् । 

शिक्षा क्षेत्रको पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित पुस्तकालय स्थापनाको जमर्को गरेको प्रधानाध्यापक नागरीले बताए। उनले भने, “हामीले दुर्गम क्षेत्रमा नमूना पुस्तकालय बनाउने अभियान सञ्चालन गरेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ । त्यसैले सहयोगका लागि आग्रह गर्दछौँ ।”

पुस्तकालयमा १० हजार पुस्तक पुर्याउने लक्ष्य रहेको र सोहीअनुसार काम अगाडि बढिरहेको हो ।  पुस्तकालयबाट पढ्नका लागि फिर्ता गर्ने शर्तमा पुस्तक लग्न पाइने छभने पुस्तकालयमै पनि पढ्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।