रौतहट— जिल्लाको बौधीमाई नगरपालिका–१ स्थित भुवाली चोक नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ७६६ नम्बरको विद्युतीय सवारीसाधन (ईभी) ले ‘अन टेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२, इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।
सोमबार बिहान करिब ८ः४५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अस्पतालमा उपचारकै क्रममा बिहान १०ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ईभी चालक राजपुर नगरपालिका–५ निवासी २५ वर्षीय उपेन्द्र साहलाई पक्राउ गरेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोप्वापिपरिया र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्रराज कंडेलको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






































