वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।

पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने समेत जानकारी गराएको छ ।

पछिल्लो समय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदम चालेको बुझिएको छ। सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र प्रशासनको आदेश पालना गर्न आग्रह गरिएको छ ।