ओखलढुंगा— जिल्लामा हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय संगम राई (मिलन), गाउँपालिका–४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिसाङ्ग गाउँपालिका–८ माम्खाका ३० वर्षीय अशोक भुजेल (दोर्जे) रहेका छन्।
गत मंगलबार चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी नगद १ लाख रुपैयाँ, २ तोला सुनका गरगहना तथा ६ तोला काँचो सुन लुटिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार संगम र विनोदलाई शुक्रबार र प्रकाश तथा अशोकलाई शनिबार पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को गत असोज २६ गते भएको हत्या घटनामा समेत संलग्न रहेको खुलेको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई थान भरुवा बन्दुक, एक थान सुनको औंठी, बन्चरो, खुकुरी र कोदालो बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






































