सर्लाही— जिल्लाको इश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत (वन हेरालु) रामइश्वर महतोको विभत्स हत्या प्रकरणमा काटिएको टाउकोसमेत फेला परेको छ। जङ्गलभित्र टाउकोविहीन अवस्थामा उनको शव भेटिएपछि सुरु गरिएको खोजीका क्रममा घटनास्थल नजिकैको झाडीमा टाउको भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार महतो हिजो बिहान जङ्गलतर्फ गएपछि सम्पर्कविहीन भएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन भई तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले घटनामा संलग्न आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।






































