जनकपुर— नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।

आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।

उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए । उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।

उनले एमाले नेताका घरहरु आफ्नो नीजि भन्दा पनि जनताको लागि भएको बताए । उनले आफूले राजनीतिमा आउनु भन्दा पहिला बनाएको घर जेनजी आन्दोलनमा आगो लगाउनु दुःखद रहेको बताए ।

महासेठले हाल नेपालमा नयाँ शक्तिको नाममा अगाडि आएकाहरु चुनावमा जीते नेपालको हालत के हुने भन्ने चिन्ता व्यक्त गरे । जनताको बीचमा नगएका, कानुन बिपरीत काम गरेकाहरुले कागजी नयाँ शक्ति बनाएर चल्न नसक्ने उनले बताए ।

नेपालका राष्ट्रिय धरोहरका रुपमा रहेका संरचनाहरु जलाउन रातारात प्लानिङ गरिएको दाबी गरे । उनले ३ मिनेटमा आउनुपर्ने दमकल ३ दिन पछि ललितपुरबाट मगाएर सिंहदरबार निभाउन गएकोमा आक्रोस व्यक्त गरे ।

सिंहदरबारलगयातका सरकारी कार्यालयहरु छानी छानी नेताहरुको राखिएको फाईलहरु जलाइएको उनले आरोप लगाए । विभिन्न मुद्दाहरुको फाईल र दस्तावेजहरु नष्ट गर्न नियतवश आगजनी गरिएको उनले बताए ।

महासेठले मधेश प्रदेश सरकारको समर्थन एमालेले गरेको ठिक नरहेको बताए । उनले एमालेले समर्थन गरेकोले प्रतिपक्षमा बस्ने कोही नभएकोले सरकारलाई सचेत कसले गराउने भन्नेमा प्रश्न उठेको बताए ।

उनले मधेश प्रदेश संसदीय दलले केही सोच विचार गरेरै समर्थन दिएको भएपनि त्यसो गर्नु गलत रहेको धारणा राखे ।