काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र देखिएको विवादबारे परामर्श गर्न देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन्।

देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकमा पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यससँग जोडिएका राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको अडानका कारण विवाद चर्किँदै गएको छ। यसैबीच, कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै तयारी अघि बढाइरहेका छन्। कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।