स्याङ्जा— भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयमा अभिभावकले आलोपालो विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन्।
नेपाल सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराइँदै आएको छ।
उक्त विद्यालयमा एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाजा बनाएर खुवाउन कठिन भएपछि अभिभावकले सहयोग गर्दै आएका हुन्।
विद्यालयमा दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक रेशम खनालका अनुसार बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि छ बार छ प्रकारका खाना बनाइन्छ। “एक जना भान्सेले मात्र काम गर्न अप्ठ्यारो हुने भएकाले अभिभावकहरू आलोपालो विद्यालय आएर सहयोग गरिरहनुभएको छ,” उनले भने।
दिवा खाजाको व्यवस्थापनका लागि विद्यालयले अभिभावकको भेला गरी दैनिक तीन जना अभिभावक अनिवार्य उपस्थित हुने निर्णय गरेको छ। नामावलीसहितको तालिका बनाएर अभिभावकलाई जानकारी गराइँदै आएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष छायाराम खनालका अनुसार सरकारले उपलब्ध गराउने रकमले मात्र खाजा खुवाउन अपुग हुने भएकाले आन्तरिक व्यवस्थापन गरिएको छ। “आइतबारदेखि शुक्रबारसम्म बारअनुसार फरक–फरक परिकार खुवाइन्छ,” उनले भने, “अभिभावकहरूले श्रम सहयोगका साथै मासिक दुई सय रुपैयाँ पनि खाजाबापत सहयोग गर्दै आउनुभएको छ।”
नमूना विद्यालयका रूपमा रहेको उक्त विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालय परिसरमै च्याउ, तरकारी र ड्रागन फ्रुट खेतीसमेत गरेको छ। बाल विकासदेखि कक्षा ६ सम्मका १८५ विद्यार्थीले दैनिक दिवा खाजा खाने गरेका छन्।
विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ भने कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि छुट्टै चमेना गृहको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।






































