काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ।
यसका साथै कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई पनि सूचीकृत हुन आयोगले आह्वान गरेको छ। इच्छुक सेवा प्रदायकले आयोगले तोकेको मापदण्ड पूरा गरी आवेदन पेस गर्नुपर्नेछ।
आवेदनका साथ सम्बन्धित निकायबाट प्राप्त सेवा सञ्चालन अनुमति पत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको कारोबार विवरण खुल्ने प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
हेलिकप्टर भाडामा उपलब्ध गराउने कम्पनीको पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम कम्तीमा तीन करोड रुपैयाँ हुनुपर्नेछ। त्यसैगरी ट्रक तथा कन्टेनर सेवाका लागि एक करोड रुपैयाँ र कुरियर सेवाका लागि न्यूनतम ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ।
कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले ७७ वटै जिल्लामा रहेको आफ्ना कार्यालय वा प्रतिनिधिको विवरण टेलिफोन तथा मोबाइल नम्बर सहित निवेदनमा उल्लेख गर्नुपर्नेछ।
एकभन्दा बढी समूहमा सूचीकृत हुन निवेदन दिएमा त्यस्तो निवेदनमाथि कुनै कारबाही नहुने आयोगले जनाएको छ। सेवा प्रदायक फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगमै निहित रहने पनि आयोगको भनाइ छ।






































