काठमाडौं— पोखराको लिचीघारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा गुप्तासँग बयान भइरहेको हो। बयान सकिएलगत्तै आजै थुनछेक बहस हुने बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गराइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। साथै, पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि आयोगले दायर गरेको छ।

आयोगका अनुसार कुल ७८ लाख रुपैयाँ घुस लेनदेनसम्बन्धी अडियो प्रमाण, बैंक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ। फरेन्सिक परीक्षणमा अडियो–भिडियो सामग्रीमा छेडछाड नभएको निष्कर्ष निकालिएको छ।

यस प्रकरणमा अख्तियारले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको छ।