सुनसरी— चिसो बढेपछि सुनसरी जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। अत्याधिक चिसो भएपछि जिल्लाका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन्।

स्थानीय तहका निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ। इटहरी उपमहानगरपालिकाले भने उक्त बिदा सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।

उपमहानगरको शिक्षा शाखाका अनुसार अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर, रामधुनीलगायत सुनसरीका अन्य स्थानीय तहले पनि यही अवधिका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

स्थानीय तहहरूले चिसोबाट जोगिन बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन्।