काठमाडौं— प्रहरीले काठमाडौंमा बिलविना १४ लाख ९७ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ।
बुधबार बिहान ६ः१५ बजे नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकमा धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा डिक्कीभित्र लुकाइएका मोबाइल पार्ट्स फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसको डिक्कीभित्र राखिएका २८ कार्टुनमध्ये २७ बोरामा जम्मा ४० हजार ५ सय पिस टेम्पर्ड ग्लास फेला परेको हो। ती टेम्पर्ड ग्लासको प्रति पिस अनुमानित मूल्य ३५ रुपैयाँका दरले कुल १४ लाख १७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, अर्को एक बोरामा १ सय पिस मोबाइल पार्ट्स फेला परेको छ। ती सामानको प्रति पिस अनुमानित मूल्य ८ सय रुपैयाँका दरले ८० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सम्पूर्ण सामानको कुल मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको र सामानसहित बस तथा बसका चार जना कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वृत्त स्वयम्भूमा राखिएको प्रहरीले जानकारी दिएको छ।






































