सङ्खुवासभा— केन्द्रीय कारागार नख्खुबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय टीकाराम विश्वकर्मा (अमित) लाई मोरङबाट पक्राउ गरेको हो।
फरार विश्वकर्मा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
विश्वकर्मा जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भई २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गर्दै आएका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको अव्यवस्थाका बेला उनी कारागारबाट फरार भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
प्रहरीका अनुसार जेनजी प्रदर्शनका क्रममा फरार भएका कैदीहरूमध्ये हालसम्म सात जनालाई पक्राउ गरिसकिएको छ। पक्राउ परेका विश्वकर्मालाई आइतबार फैसला कार्यान्वयनका लागि कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






































