विराटनगर— मोरङ जिल्लामा प्रहरीले एम्बुलेन्स प्रयोग गरी ओसारपसार भइरहेको ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले ५२१ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका–५ मा चेकजाँचका क्रममा प्रहरीले प्र।१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोकेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका–६ निवासी निश्चल राई र सागुरिगढी गाउँपालिका–२ निवासी खगेन्द्र लिम्बु रहेका छन्। एम्बुलेन्सको भित्री भागमा १६ वटा पोका बनाई लुकाइछिपाई राखिएको ५२१ किलोग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।