काठमाडौं— उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।
‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ ।’
आफूले गाडी बुझाएको विषयलाई लिएर राजीनामा दिएको भनी समाचार लेखिएकोप्रति उनले आपत्ति जनाइन् । ‘गोरखापत्र, केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । आफ्नै देशका सञ्चारमाध्यमले यस्तो लेख्दा मलाई लाज लागिसक्यो,’ उनले भनिन् ।
उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा पनि त्यसलाई ‘तमासा’ बनाउने प्रयास भइरहेको आरोप लगाइन् । जनतालाई राम्रो सन्देश दिनका लागि गाडी बुझाएको भएपनि आफूले सुरुवातीमा पदभार ग्रहण गरेकै बेला प्रयोग गरिरहेको जस्तै अवस्थामा गाडी फिर्ता गर्न दबाब दिइएको उनले बताइन् ।
उनले भनिन्, ‘जसको घर नै यहाँ छैन, केही गर्दा त्याग नै गरेको हुँ । तर मैले सरकारले गर्न नसकेको काम गरिरहेको छु । बालबच्चाहरुका लागि नेपालभरी बस्ने घर बनाएको छु, स्कुल बनाइदिएको छु । यत्रो स्कुलहरु चलाइदिएको छु, सरकारले नगरेको काम मैले गरेको छु । तर पनि मलाई तमासा बनाउने काम भयो । कस्तो देश होला रुमलाई पीडा भएको छ तर पीडा पोख्दिन । तर जति मलाई पीडा दिन्छन् उत्तिकै चट्टान बनेर उभिन्छु ।’
उनले आफूले देशभर बालबालिकाका लागि आवास, विद्यालय निर्माण र विद्यालय सञ्चालनजस्ता काम गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर आलोचना गरिनु दुःखद भएको बताइन् ।
संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने व्यवस्था रहेको उल्लेख गर्दै रानामगरले सोही प्रावधानअनुसार राजीनामा नदिई सरकारी सुविधा मात्रै नलिएको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘नेपालको संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने भनेको छ । तर कानुनले यस्तो अवस्थामा पदावधी सकिने भनेर स्पष्ट भनेको छैन । सोही अनुसार मैंले राजीनामा नभइ सुविधा चाँही नलिएको हो । जनतालाई राम्रो सन्देश दिन खोजेको हुँ । तर गाडी बुझाउँदा पनि जस्तो लगेको हो, त्यस्तै गाडी बुझाउने भनेका छन् । म सँग गाडी बनाउने पैसा छैन् । तर केही शक्तिहरु मिलेर दबाउन खोजिँदैछ ।’
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक तर्फको मनोनयन दर्ता हुँदैछ । नेपालको संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल ‘प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुने दिनसम्म’ कायम रहने उल्लेख छ ।
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।






































