रौतहट— रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।
करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् । धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय र खर्च दुवै बढ्ने बताए । सरकारको यो निर्णयले मर्कामा परेको भन्दै तत्काल फिर्ता लिन उनले आग्रह समेत गरे।
गौरबाट कार्यालय हटाउँदा करदाताहरूले सेवाका लागि अन्य जिल्ला धाउनुपर्ने र आर्थिक भार बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । धर्नामा बसेका अर्का नेता रेवन्त झाले सरकारले सेवालाई विकेन्द्रीकरण गर्न खोजेको आरोप लगाए । सरकारले कार्यालय हटाउने निर्णय तत्काल फिर्ता नलिए थप सशक्त र चरणबद्ध आन्दोलन गर्ने चेतावनी रौतहट उद्योग वाणिज्य संघले दिएको छ ।






































