काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन्

शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।

उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट यस्ता उजुरी आउने गरेका हुन् । खोज्ने काम पनि चुनौतीपूर्ण नै हुने रहेछ । कतिपय केस चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएका छौ ।’

उनले पुष महिनामा मात्र फरक फरक स्थानबाट मोटरसाइकल चोरी गरेर लाने क्रममा पाँचजना चोरसहित समातेर बुझाएको जानकारी दिएका छन् ।

सोही क्रममा सवारी धनि रोहन पराजुलीले आफ्नो घरबाट नै चोरी भएको बाइक यति छिटो भेटिदा एकदमै खुशी लागेको बताए ।

उनले भने, ‘मेरो बाईक दुइ हप्ता अगाडि मंसिर २१ गते हराएको थियो । छिटो नै भेटियो । घरबाट नै साँझ ७ः३० बजेतिर हराएको हो । क्षतिग्रस्त अवस्थामा भेटिएको छ, जस्तो अवस्था भएपनि भेट्नु ठूलो कुरा हो । खुशी नै छु ।’

उनले खोजी कार्यमा लाग्ने सबै कर्मचारीलाई पनि धन्यवाद दिएका छन् ।