काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ।

उक्त मुद्दा बुधबार न्यायाधीश लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा पेश हुँदैछ। यसअघि भने न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मुद्दा अभियोजनको चरणमा पुगेको हो।

सरकारी वकिलले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको माग गरेको छ। साथै पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग पनि अभियोगपत्रमा उल्लेख छ।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत ‘राउन्ड ट्रिपिङ’ लगायत स्वार्थ बाझिने प्रकृतिका र शंकास्पद आर्थिक कारोबार गरेको आरोप लगाइएको छ।