भारत— भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् ।

दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब २०३ किलोमिटर उत्तर-पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीबार भएको थियो ।

प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो ।

बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ ।

भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।