काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् ।
विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वाह्य धर्म, संस्कार र संस्कृतिलाई विद्यालयहरुले विशेष प्राथमिकता दिंदा मौलिक संस्कार र संस्कृति गुम्दै गएको दाबी गरे ।
‘यतिबेला वैदिक सनातनी राष्ट्र तथा बहुसंख्यक हिन्दु धर्म मान्ने मुलुकमा वैदिक सनातनी राष्ट्र जरुरी भइसकेको छ । यसका लागि राजसंस्था अभिभावका रुपमा बस्नुपर्छ । आज क्रिसमस पर्व मनाउने वहानामा छाडातन्त्र भित्रियो । मौलिकता जोगाउन राजसंस्था आवश्यक छ,’ उनले अगाडि भने,‘राजाका पालामा पनि क्रिसमस मनाइन्थ्यो, मुस्लिमहरुलाई राजाले नै ल्याएका हुन् । आजका दिनमा जेनजी र अल्फा उमेर समूहहरु बोर्डिङ वा नीजि कलेजहरुका अर्गनाइजेसन छन् । उनीहरुलाई लोसार, साकेला, सोरठी, सीता जयन्ती, राम नवमी थाहा छैन् । ती पर्वहरु मनाइदैन तर क्रिसमस मनाइन्छ, राजनीति यहीबाट सुरु गरिएको छ । प्याब्सन, हिसान, एनप्याब्सनहरुले राजनीति गरिरहेका छन् ।’
स्कुलहरुमा माओ, हिटलर, स्टालिनहरुका बारेमा पढाइ भएपनि जय पृथ्वीबहादुर सिंह, पृथ्वीनारायण शाह, भक्ति शाह, सीता माता, अरनिकोबारेमा पढाइ नभएकोमा आक्रोश व्यक्त गरे ।
‘शिक्षकहरुलाई म प्रश्न गर्न चाहन्छु मौलिकता नसिकाएर के गरिरहनु भएको छ रु संसारका सबै जाति र धर्मलाई सम्मान गर्नुपर्छ तर मौलिकता गुमाउनु हुँदैन् । क्रिश्चियनलाई सम्मान गर्नुपर्छ तर जवरजस्ती सान्ता क्लज लगाउन दबाब दिन पाइँदैन् । आफ्नो मौलिकता, धर्म, संस्कार, संस्कृति बचाउनुपर्छ । अंग्रेजी बोल्नुपर्छ, अंग्रेजी नयाँ बर्ष मनाउनुपर्छ तर विक्रम सम्वत प्राथमिकता दिनुपर्छ ।’
उनले घरमा तुलसाको मोठ राख्न सके सुकेको क्रिसमस ट्रि बोकेर हिंड्नुपर्ने अवस्था नआउने बताए । उनले घरमा गीता र राष्ट्रिय झन्डा राख्न पनि अनुरोध गरे । ‘म अलिक पृथकतावादी वा पुरातनवादी भएपनि हाम्रो संस्कार, संस्कृति, हाम्रो जोगाउन अनुरोध गर्न चाहन्छु ।’






































