ताप्लेजुङ— जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ अन्तर्गत भाँडी खोला क्षेत्रमा रहेको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
राजमार्गमाथिको कुलोमा क्षति पुग्दा बिहीबार बिहान अचानक पहिरो खस्न गई करिब १० मिटर सडक भाग पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
घटनापछि प्रहरीचौकी मेवाखाबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै सडक खुलाउने प्रयास तीव्र पारेको उनले बताए।






































