एजेन्सी— बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् । रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो ।

बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको चुनावपछिको प्रधानमन्त्रीको लागि प्रमुख दावेदार मानिएको छ । बंगलादेशमा, तारिकलाई उनका परिवारका सदस्यले स्वागत गरेका थिए ।

विमानस्थलबाट निस्केपछि, तारिक रहमानले पार्टीका नेता र कार्यकर्ताहरूलाई धन्यवाद दिन ३०० फिट पैदल यात्रा गरेका थिए । त्यसपछि एभरकेयर अस्पतालमा उपचाररत आफ्नी आमा खालिदा जियालाई भेट्न जाने बताइएको छ । बंगलादेश पुगेपछि तारिकले ६ हजार ३१४ दिन पछि बंगलादेश फर्किएको बताउदै अन्ततस् बंगलादेशी माटोमा पुगेको बताएका छन् ।