गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा जंगली हात्ती गाउँमा पसेपछि १२ भन्दा बढी घरमा क्षति पुगेको छ। आइतबारदेखि मङ्गलबार रातिसम्म विभिन्न वडामा हात्तीको समूहले घर भत्काउने र अन्न नष्ट गर्ने गरेको स्थानीयले बताएका छन्।
त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता तथा त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँ पस्दा स्थानीय बासिन्दाको घरमा व्यापक क्षति पुगेको हो। सोमबार राति करिब ७०—७५ जतिको समूहमा आएका हात्तीले वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखरेललगायतको घर भत्काएको जनाइएको छ।
त्यसैगरी मङ्गलबार राति पनि वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायतको घरमा क्षति पुगेको छ। वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरभित्र राखिएको अन्न खाएको र घर भत्काएको स्थानीय देवीलाल चौधरीले जानकारी दिए।
लगातार रातिको समयमा ७० देखि ७५ को संख्यामा हात्ती आउने गरेपछि स्थानीय त्रसित बनेका छन्। सुरक्षाका लागि स्थानीयहरू रातभर आगो बालेर समूहमा बस्न थालेको मोहनपुरका कृष्ण कार्कीले बताए। उनका अनुसार कतिपय घर पूर्ण रूपमा भत्किएका छन् भने केहीमा आंशिक क्षति भएको छ।
हात्तीको उपद्रो बढेपछि जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरी प्रमुख राजन चापागाईंका अनुसार माइकिङमार्फत सचेतना गरिँदै आएको छ भने हात्ती भगाउन समूहमा बस्न र रातिको समयमा गस्ती गर्ने योजना बनाइएको छ।






































