काठमाडौं— नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्।
बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे ।
उनले सरकारले प्रस्ताव गरेको निकासमा जाने वा त्यसअगावै नयाँ राजनीतिक वातावरण निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेको बताए ।
उनले भने, ‘चुनाव अहिले दोबाटोमा उभिएको छ । हालको राज्य र सरकारले प्रस्ताव गरेको निकासमा जाने कि त्यो निकासअगावै नयाँ वातावरण बनाएर अघि बढ्ने भन्ने बहस छ । विश्वसनीयता गुमेको र अवस्था अस्वस्थ्य भएको बेला सबै पक्षले सन्तुलित ढंगले निकासतर्फ जानुपर्ने आवश्यकता छ ।’
महासचिव चन्दले नेपालमा राजनीतिक संक्रमण र संकट यथावत रहेको उल्लेख गर्दै जेनजी विद्रोहपछि पनि जनताका मुख्य मागहरू सम्बोधन हुन नसकेको बताए । उनले जेन–जी आन्दोलनले सडकबाट भ्रष्टाचारीमाथि कारवाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन र कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचित बनाउने जस्ता प्रस्ताव अघि सारेको भएपनि त्यो हुन नसकेको बताए । तर पछिल्लो समय शुसीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘नेपालमा एउटा राजनीतिक संक्रमण र संकट यथावत नै छ । जेनजी विद्रोहपछि पनि ठूलो जनताका प्रस्तावहरु सम्बोधन हुन सकेको छैन । जनताले, जेनजीले सडकमा भ्रष्टाचारीहरुलाई कारवाही गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, संविधान पुनर्लेखन गर्ने र नेपालको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचिनबाट चुनिने बनाउनुपर्छ भन्ने आन्दोलनको प्रस्तावहरु हुन् । तर पछिल्लो अन्तरिम सरकार शुसीला कार्कीज्यूको अन्तरिम सरकार बनेपछि एक प्रकारको चुनावलाई मात्र जोड दिएर कामहरु गरिरहेको स्थितीमा विद्रोही आन्दोलनकारी र परिवर्तनकारी जेनजी, जनता, राजनीतिक शक्तिहरु कोही पनि सन्तुष्ट भएको स्थिती अहिले छैन ।’






































