काठमाडौं— दुई करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा स्थायी घर भई हाल काठमाडौं बस्दै आएका एसएन सप्लायर्सका सञ्चालक सन्तोषकुमार साहलाई बुधबार काठमाडौं महानगरपालिका–४, चन्डोल क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुमितकुमार खेतानको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा साहविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनी लामो समयदेखि फरार रहेका थिए।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेका साहलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जानकारी दिए।

साहमाथि महोत्तरीमा एक करोड ७२ लाख, धनुषामा आठ लाख र झापामा ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोग लागेको प्रहरीले जनाएको छ।