काठमाडौं— अवैध लागूऔषध कारोबारमा संलग्न तीन जना विदेशी नागरिकलाई चार किलो ३०० ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। 

पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरिएको र उनीहरू नेपालमै बसेर कोकिनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका शंकास्पद विदेशी नागरिकमाथि निगरानी गर्दै काठमाडौं महानगरपालिका–९, सिनामङ्गल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

कामासँग ५५० ग्राम र जेभियर तथा मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ। कोकिन क्याप्सुल बनाएर प्लास्टिकमा प्याक गरिएको तथा सुटकेसभित्र लुकाइएको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा चलाइ काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।