सप्तरी— सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ मा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बरामद गरिएको गाँजाको तौल करिब ८ सय २४ किलो ६ सय ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति राजविराज नगरपालिका–११ का २९ वर्षीय रामकुमार यादव हुन्। उनलाई बुधबार बिहान सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको संयुक्त टोलीले को १ च ९६६५ नम्बरको पिकअप गाडी जाँच गर्दा ३२ वटा पोका गाँजा फेला पारेको थियो। सोही गाडीका चालक यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।