दाङ— जिल्ला प्रहरी कार्यालय दाङले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित फरार प्रतिवादी खोजतलास अभियानलाई तीव्र बनाएको छ।

अभियानअन्तर्गत एक साताको अवधिमा विभिन्न मुद्दामा फरार रहेका २७ जना प्रतिवादी पक्राउ परेका छन्। पुस १ गतेदेखि पुस ७ गतेसम्म जिल्ला प्रहरी तथा मातहतका प्रहरी टोली परिचालन गरी खोजतलास गर्दा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल तीन लाख ७६ हजार ८५३ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूलाई चार वर्ष ६ महिना १५७ दिनको कैद सजाय तोकिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।