सिन्धुली— सिन्धुलीमा घरायसी विवादका कारण बुहारीमाथि पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनामा सासू र नन्द पक्राउ परेका छन्। कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको आइतबार अपराह्न साढे ४ बजेतिर मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा ५९ वर्षीया मायारानी बमजन र उनकी छोरी ३५ वर्षीया मिना बमजनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृतकका माइती पक्षले ससुरा ६५ वर्षीय दुर्गामान बमजनविरुद्ध पनि किटानी जाहेरी दिएका छन्। आगलागीका क्रममा उनी पनि घाइते भएका छन्। आगो निभाउने क्रममा घाइते भएको उनको भनाइ रहे पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते दुर्गामानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

मृतकका श्रीमान रोजगारीका सिलसिलामा कोरियामा गएका र परिवारभित्र लामो समयदेखि विवाद चल्दै आएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । आइतबार सुशीलाको शव पेट्रोल छर्की आगजनी गरिएको अवस्थामा फेला परेको थियो।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुली अगाडि नाराबाजी गरिरहेका छन्।