सिरहा— जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।

जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।

यसैबीच, सिरहाको धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोलानजिक सोमबार दिउँसो एक नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। फेला परेको बन्दुकको विषयमा इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जनाएको छ।