तनहुँ— जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

संघ–संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण तथा नामसारी, राहदानी दस्तुरलगायत विभिन्न शीर्षकबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

राजस्व संकलनका विवरणअनुसार संघ–संस्था दर्ता तथा नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार र न्यायिक दण्ड–जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ संकलन भएको छ।

यसै अवधिमा कार्यालयमा ६१९ वटा गुनासा दर्ता भएका छन्। प्रजिअ अधिकारीका अनुसार सबैभन्दा धेरै ५७२ गुनासा नागरिक एपमार्फत प्राप्त भएका छन् भने कार्यालयमा निवेदनमार्फत ३४ र विभिन्न निमायक निकायमार्फत १३ गुनासा दर्ता भएका हुन्।

दर्ता भएका गुनासामध्ये हालसम्म ४३४ गुनासा फर्छ्यौट भइसकेका छन्। विवरणअनुसार नागरिक एपमार्फत आएका ३८७, कार्यालयमा निवेदनमार्फत दर्ता भएका ३४ तथा निमायक निकायमार्फत आएका १३ गुनासा समाधान गरिएको छ।

सेवाग्राहीको पहुँच सहज बनाउन क्युआर कोडमार्फत गुनासा दर्ता गर्ने व्यवस्था गरिए पनि सो माध्यमबाट हालसम्म कुनै पनि गुनासा प्राप्त नभएको जनाइएको छ। यस्तै ‘हेलो सरकार’ प्रणालीमार्फत पनि गुनासा नआएको प्रजिअ अधिकारीको भनाइ छ।