रसुवा— रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६, सरस्यु निवासी फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकता प्राप्त गरेका छन। उनले पुस ७ गते जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार फुर्पा तामाङको नागरिकता निर्माणका लागि आवश्यक सम्पूर्ण कागजात र प्रक्रिया सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूको समन्वय र सहजीकरणमा पूरा गरिएको हो।

लामो समयसम्म नागरिकताविहीन रहँदा पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको भन्दै नागरिकता प्राप्त भएपछि आफू अत्यन्तै खुशी भएको फुर्पा तामाङले बताए। अब नागरिकका हैसियतले राज्यले दिने सेवा र सुविधाहरू पाउन पाउनेमा उनी हर्षित देखिन्छन।

नौकुण्ड गाउँपालिका–६ का वडा अध्यक्ष यो नुर्पु तामाङले सेवा ग्रहणकर्ताको खुशी नै आफ्नो खुशी भएको उल्लेख गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझेर निर्वाह गर्न पाउनु र आवश्यक सेवा–सुविधा पाउने अवस्था बनेकामा आफू पनि खुसी भएको बताए।

605762648_25097501756615259_7540818044387304183_n-768x440