काठमाडौं— वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय सुजन आले मगर रहेका छन्।

सुजनले आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । त्यसपछि सुजन सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सुजनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीको भनाइ छ।