रामेछाप— निर्माण व्यवसायीले काम नगरेर लामो समयसम्म अलपत्र पारेको रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको काम पुनः सुरु भएको छ ।

कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवार ओमबुद्ध÷अर्याल कन्ट्रक्सनले ४३ करोड रुपैँयामा लिएका थिए । १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएको सो सडक ४ वर्षदेखि अलपत्र छ ।

सडकको काम समयमा नभएको भन्दै स्थानीय जनप्रतिनिधिले जिल्ला पूर्वाधार कार्यालय रामेछापमा तालाबन्दी समेत गरेका थिए । निर्माण व्यवसायीले पटक पटक काम गर्ने सहमति गरेको भए पनि काम हुन सकेको थिएन ।

अहिले सो सडकको पकरबासदेखि खाँडादेवी गाउँपालिका कार्यालयसम्मको भागमा पिच गर्न सुरु गरेको छ । गाउँपालिका कार्यालयदेखि गाल्पासम्मको सडक खण्डमा फाउण्डेनको केही काम भइरहेको भए पनि काम अति धिमा गतिमा भएको छ ।

त्यस्तै ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडकको काम पनि त्यतिकै अलपत्र छ । सो सडक बनाउने जिम्मा १७ करोड रुपैँयामा रौताहार सगुनरपाँच पोखरी कन्ट्रक्सनले लिएको थियो । सो सडक पनि १८ महिनामा काम सम्पन्न गर्ने गरी एकैसाथ सुरु भएको हो ।