काठमाडौं— सामाजिक सञ्जालमा फेक एकाउन्ट प्रयोग गरी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा डी गाउँका २७ वर्षीय सन्दिप चन्द रहेको साइबर ब्यूरोले जनाएको छ ।
चन्दले महिलाको तस्वीर प्रयोग गरी फेक एकाउन्ट बनाइ नाबालिकासँग मित्रता गाँसेका ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । त्यसपछि विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर आपत्तिजनक सामग्री माग्ने तथा सुरक्षित राख्ने गरेको अनुसन्धानबाट खुलेको अवस्थीको भनाइ छ।
नाबालिकाले असहयोग गरेपछि ती सामग्री पीडितको विद्यालयका साथी तथा आफन्तसँग सामाजिक सञ्जालमार्फत पठाई चरित्रहत्या गरिएको ब्यूरोले जनाएको छ। घटनापछि नाबालिकाको अभिभावकले साइबर ब्यूरोमा उजुरी दिएका थिए।
चन्दलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा पक्राउ गरिएको हो। हाल उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।






































